Investigative, Accurate, News Portal
एकीकृत माओवादीको प्रकाशन, प्रसारण र प्रचार विभागको ब्यूरो इन्चार्जबाट प्रवक्ता दीनानाथ शर्मालाई हटाइएको छ। प्रकाशन प्रचार व्यवस्थित नगरेको, माओवादी निकट पत्रकारहरूको बेवास्ता गरेको भनि आरोप लागेका शर्मालाई बिहीबारको स्थायी समितिको बैठकले इन्चार्जबाट हटाएको हो। शर्माको ठाउँमा उपाध्यक्ष बाबुराम भट्टराईलाई ल्याइएको छ। भट्टराई मातहतमा शर्मा रहेका छन्। केही समयअघि माओवादी निकट पत्रकारहरूले शर्माले प्रचार विभागको बैठक समेत नराखेको, माओवादी पत्रकारहरूमा समेत नातावाद, कृपावाद गरेको आरोप लगाएका थिए। प्रकाशन तथा प्रचारलाई पदाधिकारीहरूले हेर्ने नीति बनेपछि भट्टराई इन्चार्ज बनेको शर्माले बताए। ुविशेष मोर्चाहरूलाई पदाधिकारीहरूले नै हेर्ने नीति बनेपछि भट्टराई जी त्यसको इन्चार्ज बन्नु भएको हो। त्यही समिति अर्न्तगत म रहेको छुु, शर्माले भने। अघिल्लो महिना अध्यक्ष पुष्पकमल दाहालकै उपस्थितिमा क्रान्तिकारी पत्रकार संघका पदाधिकारीहरूले शर्माको आलोचना गरेका थिए। स्रोतका अनुसार पार्टी पक्षधर संचारमाध्यमलाई प्रोत्साहन नगरेको, अघोषित रूपमा आफन्तको नामबाट एक टेलिभिजनमा लगानी गरेको पार्टीभित्रै कुरा उठेको थियो। स्थायी समितिको बैठकले भट्टराईको नेतृत्वमा शर्मा र क्रान्तिकारी पत्रकार संघका संयोजक महेश्वर दाहाल सदस्य रहेको प्रकाशन, प्रसारण र प्रचार विभाग गठन गरेको छ। महेश्वर वरिष्ठ उपाध्यक्ष मोहन वैद्य निकट मानिन्छन। यही समितिलाई पछि विस्तार गरेर प्रचार विभाग बनाउने योजना रहेको स्रोतले बतायो। भट्टराईको अर्को जिम्मेवारी हुँदाहुँदै प्रचार विभाग हेर्ने जिम्मेवारी थप गरिएको छ। शर्मालाई वैद्य इन्चार्ज रहेको बैचारिक संयन्त्रको सदस्यमा पनि राखिएको छ।