top menu Home Sitemap Our Team

आर्थिक समाचार

कार्यक्षेत्रको समस्या आपसी समझदारीमा टुंग्याउनुपर्नेु

पोखराखबर डट कम समाचारदाता
पोखरा२८ पुस ।


 कार्यक्षेत्रमा ब्यवसायी र मजदूरबीच हुने असमझादारीलाई आपसी सहमतिमै टुंग्याउन सके प्रतिष्ठान तथा मजदुर दुबैको भलो गर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ पोखरा उद्योग बाणिज्य संघ तथा विश्व श्रम संगठन आइएलओ ले संयुक्त रुपमा मंगलबार पोखरामा आयोजना गरेको कार्यस्थलमा सहकार्य विषयक कार्यशालामा सहभागीहरुले सो धारणा राखेका हुन् । कार्यशालामा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै रोमन अविकले ब्यवसायीक तथा औद्योगिक प्रतिष्ठान निर्वाध संचालन र मजदूरको सुरक्षित तथा सन्तोषप्रद पारिश्रमिकले मात्र दुबै पक्षको भलो हुने बताउनुभयो । उहाँले प्रतिष्ठानमा उत्पन्न हुने सानासाना समस्यालाई राजनीतिकरण गरिने प्रवृत्तिको अन्त्यको लागि समस्या उत्पन्न हुनासाथ त्यसको ब्यवहारिक समाधानको लागि दुबै पक्ष लाग्नुपर्ने खाँचो समेत औंल्याउनुभयो । उहाँले प्रत्येक ब्यवसायीक प्रतिष्ठानले तय गरेका नीतिबारे जानकार रहन मजदूरहरुलाई आग्रह समेत गर्नुभयो ।
प्रतिष्ठानमा कार्यरत कुनै मजदूरले गल्ती गरेमा ऊ सजायँको भागिदार हुने अन्तर्राष्ट्रिय मान्यता अघि सार्दै उहाँले राजनीतिकरण गरेर मात्र समस्याको समाधान नहुनेमा जोड समेत दिनुभयो ।
मजदूरहरुले अधिकारको लागि गर्ने आन्दोलनको क्रममा राखिएका माग सतहमा देखिएकोभन्दा फरक रुपको हुने उल्लेख गर्दै उहाँले समस्याको जरोमा पुग्न ब्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यशालामा उहाँले श्रम कानूनको अधिनमा रही कार्यक्षेत्र भित्र कार्य विनिमय नियमावली बनाउन सके समस्या हल गर्न सकिने धारणा राख्नुभयो । कार्य नियमावलीको अधिनमा रहँदा समस्या सुल्झाउन सजिलो हुने उहाँको दावी थियो ।
ब्यवसायी र मजदूरबीचको सम्बन्ध सुमुधुर बन्न नसक्दा औद्योगिक तथा अन्य ब्यवसायीक प्रतिष्ठानहरुमा देखिएको समस्या सल्टाउने उदेश्यले पोखरा उद्योग बाणिज्य संघले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी माकाजुले ब्यवसायीक उत्थान तथा मजदूरको हितकोलागि दुबैबीच नङ-मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्षेत्रभित्रै हल हुनसक्ने समस्यालाई राजनीतिकरण नगर्न मजदूरहरुसँग आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका कानूनी सल्लाहकार यज्ञमान शाक्यले कामदार र ब्यवसायीबीचको दूरी घटाउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ प्रयत्नशील रहेको जनाउनुभयो ।

 



अन्य समाचारहरु