Investigative, Accurate, News Portal
कुवेतवासी नेपालीहरुको बिसौं वर्ष देखिको व्यग्रतापूर्वक प्रतिक्षा पश्चात कुवेतमा नेपाली दूतावास स्थापनाको लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै, कुवेतका लागि प्रथम नेपाली राजदूत नियुक्त भई महामहिम श्री मधुवन प्रसाद पौडेलको कुवेत आगमन भएको पनि आज महिना दिन कटिसकेको छ । यस महिना दिनको अन्तरालमा राजदूत ज्यूबाट के-कस्ता कूटनैतीक पहलहरु भई रहेका होलान जो कुवेतमा पेशारत नेपालीहरुको हितमा कार्यान्वयन हुन सकोस भन्ने कौतुहलता अहिले सार्वजनिक रुपमै जागिसकेको र एउटा चासोको बिषय समेत बन्न पुगेको छ ।
यिनै सवालहरुलाई मध्यनजर गर्दै महामहिम राजदूत ज्यूले आफुले चालेका र दूतावासको काम शुरु भए पछी चाल्ने कूटनैतीक कदमको बारेमा हामीलाई संपर्क गरी केही जानकारी गराउनु भएको छ । र मिडिया मार्फत नै आफ्नो कूटनैतीक पहललाई सार्वजनिक गरी दिनु हुन सुझाव समेत दिनु भएकोले हामीले जस्ताको तस्तै वहाँका लिखित शब्दहरुलाई बुँदागत तवरमा तल राखी दिएका छौं ।
१) भविष्यमा नेपाली कामदारहरुलाई नियुक्ती गर्दा प्रयोग हुने गरी एक खाका तयार पारेको छु । जसले कुनै पनि घरेलु वा अन्य कम्पनिमा काम गर्ने नेपाली कामदारहरुको तथ्यांक राख्न र नयाँ कामदारहरुको पूर्ण विवरण तयार पार्न मद्दत पुर्याउने छ । साथै यसले मेनपावर एजेन्सिहरुलाई कानूनी तवरले कार्य गर्न प्रेरित गर्दै अवैध तवरले कार्य गर्नेलाई नियन्त्रण समेत गर्नेछ ।
२) कुनै पनि स्पोन्सर या एजेन्सिहरुले नेपाली कामदारहरुलाई कुवेत भित्र्याउनु पूर्व, दूतावासले तयार पारेको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिने छ । जसले गर्दा दूतावासलाई नेपाली कामदारहरुको बारेमा सम्पूर्ण जानकारी मिल्नेछ । जस्तै: काम गर्ने ठेगाना, स्पोन्सरको विवरण, तलब भत्ता र अन्य सुविधा इत्यादी । र कामदारहरु कुवेत आईसके पश्चात एजेण्टले दूतावासमा ल्याई रजिष्टर गराउनु पर्ने छ । शायद यि विवरणहरु तयार पार्न शुरुका दिनहरुमा कठिनाई हुने भएता पनि यसले हाम्रा कामदारहरुलाई आवश्यक परेको खण्डमा निकै सहयोग पुर्याउने छ ।
३) नेपाल सरकार मार्फत भारतीय सरकारलाई तुरुन्त लागु हुने गरी, भारतका बिभिन्न विमान स्थलबाट नेपाली घरेलु कामदारहरुलाई भ्रमण गर्न निषेध गराउने निर्देशनको लागि अनुरोध गरेको छु । र नेपाल सरकारले पनि यस सम्बन्धमा आफ्नो प्रकृया चालु गरी सकेको छ ।
४) आगामी दिनहरुमा विधिवत रुपमा कुनै पनि एजेन्सी या स्पोन्सरहरुले नै कामदारहरुको दोहोरो यात्राको खर्च बेहोर्नु पर्ने व्यावधान हुनेछ । जसले गर्दा हाम्रा कामदारहरुलाई कम आर्थिक बोझ पर्नुका साथै नेपालबाट आवश्यक श्रम स्विकृती प्राप्त गरे पश्चात नेपालबाटै सिधै आफ्नो गन्तव्य मुलुकमा रोजगारिको लागि प्रस्थान गर्न सक्ने छन ।