top menu Home Sitemap Our Team

खेलकूद

अनुमति नलिएको र राजश्व नतिरेको भन्दै एक्रोबेटिक प्रतियोगितामा रोक

पोखराखबर डट कम समाचारदाता
पोखरा, १३ फागुन ।

पर्यटकीय आकर्षणको रुपमा रहेको प्याराग्लाइडिङको एक्रोबेटिक प्रतियोगिता बिहीबार पोखरामा रोकिएको छ । एक्रोबेटिक प्रतियोगितामा रोक लगाएपछि प्रतियोगितामा सामेल हुन आएका विदेशी पर्यटक आक्रोसित भएका छन् । प्याराग्लाइडिङका लागि यहाँ आएका उनिहरुले पुन दोहोराएर आउने वातावरण भताभुङ्ग भएको भन्दै रोष प्रकट गरे ।

नागरिक उड्डयन कार्यालय पोखराले स्थानीय प्रशासनको सहयोगमा अनुमति नलिई र राजश्व नतिरेको भन्दै प्रतियोगितामा रोक लगाएको हो ।

सराङकोटबाट फेवातालको खपौदीमा आयोजना भइरहेको प्रतियोगितालाई कार्यालय प्रमुख नरेन्द्र थापाको नेतृत्वमा गएको एक टोलीले प्रतियोगिता स्थलमै पुगेर रोक लगाएका हुन । "अनुमित नलिई र राजश्व नतिरेकाले हामीले रोकेका हौ," प्रमुख थापाले भने, "प्रतियोगिता छ भनेर जानकारी समेत हामीलाई गराइएको थिएन ।"

प्याराग्लाइडिङ प्रतियोगिता हुदै आए पनि यो नौलो खालको प्रतियोगिता अहिलेसम्म नभएको र रमाइलोका लागि गरेको प्रतियोगिता रोकेपछि पर्यटनमा नकारात्मक असर पुगेको आयोजक संस्थाका नारायण पराजुलीको भनाई छ ।

दुई महिना अघिको तयारी सहित भएको प्रतियोगितामा ५ लाख खर्च भएको आयोजकले जानकार्री दिएको छ ।

प्रतियोगितामा रोक लगाएपछि एकै ठाउमा भेला भएका विदेशी पर्यटकहरुले प्याराग्लाइडिङ उडानका लागि विश्वमै उत्कृष्ट मानिएको पोखरामा यस्तो किसिमको रोकावटले पर्यटन विकास सभंव नहुने भन्दै संचारकर्मी समक्ष गुनासो पोखे ।

केही समय अघि फेवातालमा एक्रोबेटिक गरी नया रेकर्ड राख्ने क्रममा तालमा खसेर जर्मनी पर्यटकको मृत्यु भएपछि प्रशासनले समेत निगरानी राख्दै आएको छ । प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले पनि आयोजकलाई दुर्घटना निम्त्याउने हुनाले फोन मार्फत प्रतियोगिता रोक्न आग्रह गरेका थिए । व्यवसायीहरुले यसरी रोक लगाउँदा पर्यंटनमा नकारात्मक असर पुगि यहाँको पर्यटन क्षेत्र अस्तव्यस्त हुने बताए ।



अन्य समाचारहरु